दाजुभाइलाई जंगली चितुवाले लखेट्यो, बर्थ डे केकले बचायो ज्या’न

काठमाडौं।

बाटोमा अचानक जंगली चितुवाले लखेटेपछि आत्तिएका २ दाजुभाइलाई बर्थ डे केकले बचाएको छ । चितुवाले आफूहरुलाई लखेटिरहेका बेला ती दाजुभाइले चितुवाको मुखमा २ पाउण्डको केक फ्याँकेर बचेका छन् ।

भारतको मध्य प्रदेशको बुरहानपुरका दाजुभाइ फिरोज र सबिर मन्सुरी छोराको जन्मदिनका लागि केक लिन गएका थिए । घर फर्किंदा उनीहरुले साथमा केक ल्याउन त सकेनन् तर निकै भाग्यमानी साबित हुँदै जीवितै आउन भने सके ।

टाइम्स अफ इण्डियाका अनुसार यी दाजुभाइले सोमबार साँझ नेपानगरबाट केक किनेर घर ल्याउँदै थिए । मोटरसाइकलमा घर फर्किने क्रममा गोराडिया गाउँनजिकै उनीहरुले बाटोमा चितुवा भेटे । उखुको खेतभित्रबाट निस्किएको चितुवाले उनीहरुको मोटरसाइकललाई लखेट्न थाल्यो । उनीहरुले मोटरसाइकलको स्पिड बढाए तर कच्ची बाटोमा चितुवा उनीहरुको मोटरसाइकलभन्दा छिटो दौडिन थाल्यो ।

अन्ततः चितुवाले मोटरसाइकललाई भेट्यो र मोटरसाइकलको पछाडि चितुवाको पञ्जा लाग्दा मोटरसाइकल नराम्रोसँग चिथोरियो । मोटरसाइकलको पछाडि बसेका सबिरले केक समातेका थिए । चितुवाको नङग्राले केकको बाकस पनि च्यातिदिएपछि सबिरले अचानक केही असामान्य काम गर्ने निर्णय लिए । उनले केक चितुवातिर फ्याँकिदिए जुन केक गएर चितुवाको अनुहारमा लाग्यो ।

अचानक भएको यो घटनाले चितुवाले केही बुझ्न सकेन र उखु खेततिर भाग्यो । ‘त्यसले हामीलाई ५ सय मिटरभन्दा धेरै लखेट्यो । हामी मुस्किलले मृ त्युबाट बच्यौं’ सबिरले टाइम्स अफ इण्डियासँग भने । वन अधिकारीहरुले घटनास्थलमा भेटिएका खुट्टाका छापको आधारमा लखेट्ने चितुवा नै रहेको पुष्टि गरेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *