रहेनन् ४१ वर्षसम्म जंगलमा बसेका हो भान लांग, जसलाई संसारमा महिला छन् भन्ने थाहा थिएन

काठमाडौं। आधुनिक संसारभन्दा धेरै टाढा जंगलमा ४१ वर्षसम्म जीवन बिताएका रियल लाइफ टार्जन हो भान लांगको निधन भएको छ । उनलाई ८ वर्ष पहिले मात्रै जंगलबाट सामान्य मानिसहरुको संसारमा ल्याइएको थियो ।

उनको ५२ वर्षको उमेरमा गएको सेप्टेम्बर ६ का दिन कलेजोको क्यान्सरका कारण निधन भएको द सनको रिपोर्टमा उल्लेख छ । भियतनामका हो भान लांगलाई उनका पिताले ३ वर्षको उमेरमा जंगलमा लिएर गएका थिए र उनले त्यहाँको जंगलमा आफ्ना पिताको साथमा ४१ वर्ष बिताएका थिए ।

उनलाई उनका पिताले जंगलमै हुर्काए र उनलाई संसारमा महिलाहरु छन्, महिलाहरुसँग शारीरिक सम्बन्धपछि बच्चा जन्मिन्छन् र सृष्टि चल्छ भन्ने समेत थाहा थिएन । हो भान लांग र उनका पिता हो भान थान्हले ४१ वर्ष घना जंगलभित्र बसेर बिताए । भियतनामको युद्धका बेला भागेर जंगल पसेका उनीहरुले कुआंग गाइ प्रान्तको ते त्रा जिल्लामा पर्ने घना जंगलमा यति लामो समय बिताए ।

उनीहरुले जंगलमा रुखका घर बनाए, रुखका बोक्रा र पातको कपडा बनाएर लगाए र मुसा मारेर खाए । ४ दशकसम्म उनीहरुको कुनै पनि अर्को मानिस र आधुनिक संसारसँग कुनै पनि सम्पर्क भएन ।द सनकै यसअघिको एक रिपोर्टअनुसार थान्ह त्यतिबेला सेनामा थिए ।

१९७२ मा अमेरिकी सेनाको बमले उनकी श्रीमती र दुई सन्तानलाई मारिदिएपछि उनले २ वर्षका छोरा लांगलाई लिएर जंगलभित्र भाग्ने निर्णय गरेका थिए । त्यसपछि ४१ वर्षसम्म कुनै पनि अर्को मानिससँग नभेटेरै बसेका उनीहरुलाई स्थानीयले २०१३ मा फेला पारेका थिए ।

त्यसपछि उनीहरु विस्तारै समाजमा घुलमिल हुन थालेका थिए । उनीहरु पछिल्लो समय जंगलनजिकै एउटा घरमा बस्ने गरेका थिए ।२०१५ मा पर्यटकहरुलाई मानिसको बसोबास नभएको दुर्गम क्षेत्रमा विदाको प्याकेज उपलब्ध गराउने कम्पनी दोकास्तावेका प्रबन्ध निर्देशक अल्भारो सेरेजोले लांगसँग भेटेका थिए ।

उनले लांगसँग जंगलमा जीवित रहने तरिकाहरुबारे जान्न चाहेका थिए । तर, उनीहरु जंगलमा जहाँ लांग हुर्केका थिए त्यहीँ ५ दिन साथमै बिताए । अल्भारोका अनुसार लांगले महिला र पुरुष छुट्याउन निकै संघर्ष गरेका थिए र उनलाई अहिलेसम्म पनि महिला र पुरुषबीचको आधारभूत फरक थाहा थिएन ।

‘म यो पुष्टि गर्न सक्छु कि लांगलाई कहिल्यै पनि न्यूनतम यौन इच्छा समेत भएन र उनको प्रजनन सम्बन्धी व्यवहार कहिल्यै पनि देखिएन’ सेरेजोले भनेका थिए । लांग र थान्हको खाना फलफूल, तरकारीहरु, मह र बाँदर, मुसा, सर्प, छेपारो, भ्यागुता, चमेरा, चराहरु र माछाजस्ता विभिन्न किसिमका मासुहरु थिए ।

सेजारोले भने ‘लांगले जनावरको कुनै पनि भाग खेर फाल्दैनथे । जतिबेला म उनीसँग थिएँ मैले लांगलाई जैतुनजस्तै गरी चमेरा खाएको देखेको थिएँ । उनले मुसाको टाउको र आन्द्राभुँडी पनि खान्थे ।’उनीहरुले जंगलमा सधैं आगो बालिराख्थे र जंगलमा भेटिएका सामग्रीहरुबाट विभिन्न भाँडाकुँडा बनाएका थिए ।

लांगको जीवन सहजै चलिरहेको थियो तर अचानक उनका पिताको स्वास्थ्य बिग्रियो । ‘उनका पिताको खराब मानसिक अवस्थाका कारण लांग पछिल्ला केही वर्ष पूरै तनाव र एङजाइटीमा बाँचेका थिए । कहिलेकाहीँ उनी रातभरी जागा बस्थे’ सेजारोले भने ।

जब उनीहरुलाई अरु मानिसले फेला पारे त्यसपछि लांगलाई कारमा गाउँ लगिएको थियो जहाँ उनी आधुनिक विकास देखेर दंग परेका थिए ।रातमा बल्बबाट प्रकाश आइरहेको देख्दा उनी छक्क पर्थे । लांगका अनुसार रातको समयमा पनि प्रकाशको मजा लिन पाउनु उनका लागि सबैभन्दा अद्भूत लागेको थियो । त्यसपछि उनले जीवनमै पहिलो पटक टेलिभिजन देखे ।

यो यस्तो चीज थियो जसबारे उनका पिताले उनी युवा हुँदा भनेका थिए । त्यसैले उनलाई त्यहाँ देखिने मानिसहरु बाकसभित्र छैनन भन्ने चाहिँ थाहा थियो । लांग पछिल्लो ८ वर्ष आधुनिक गाउँमा बसेका थिए तर यो ८ वर्षको अवधिमा पनि उनले सामाजिक नियमलाई भने बेवास्ता गरेरै बिताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *